राजनीति
शरणार्थी प्रहरणमा निर्दोषलाई फसाउने काम भएको छ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने काम भइरहेको बताका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले दोषीलाई उम्काउने प्रयास र निर्दोषलाई फसाउने कोसिस भएको तथ्य आफूसँग गरेको दाबी गरेका हुन्।
शीर्ष दलहरूबीचको भेटघाटलाई शरणार्थी प्रकरणसँग जोडेकोप्रति आपत्ति जनाउँदै ओलीले दोषीलाई बचाउने खेलमा आफू र नेकपा एमाले नलाग्ने स्पष्ट पारे।
यस प्रकरणको बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको भन्दै कोही पनि दोषी छुट्न नहुने उनले बताए।
ओलीले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्न खबरदारी पनि गरे। ओलीले यस प्रकरणको अनुसन्धान धेरै अघिदेखि नै चलिरहेको भन्दै यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुँगामा ताउ लगाउनुपर्ने कुनै आवश्यकता नरहेको जिकिर गरे।
एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम देशको प्रतिष्ठा बढाउने, देशको विकास गर्न सक्षम नभएको भन्दै समर्थन गर्न नसकिने बताए।
उनले अहिलेको नीति तथा कार्यक्रम फिर्ता लिएर नयाँ कार्यक्रम बनाउन सुझाव दिए। ओलीले एमाले नेतृत्वको सरकारलाई विस्थापन गरी बनेको गठबन्धनको सरकार नै मुलुकको अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक भएको आरोप लगाए।
सरकारको कार्यक्रममा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नरहेको, सामाजिक न्याय कायम गर्ने दृष्टिकोण नरहेको, सरकारको आर्थिक नीतिको अभाव रहेको र राष्ट्र–जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न असक्षम रहेको उनले बताए।
अध्यक्ष ओलीले वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन रहेको दाबी गरे।
सरकारको कार्यक्रममा भारतले मिचेका भूमि स्पष्ट रूपमा उल्लेख नगरिएको तर्क गरे। उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खुलस्त रूपमा सीमा लगायतका विषयलाई राख्नुपर्ने बताए।
ओलीले संवाद, सहमति र सहकार्यको परिपाटीतर्फ देशलाई फर्काउनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।