राजनीति
नेपालमा पिकलबलको अत्यन्तै राम्रो सम्भावना छ : कमल थापा

नवपथ संवाददाता
काठमाडौं, भदौ ३०

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन्।
पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरू भएको छ। पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले खेलको उद्घाटन गरेका हुन्।
टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भइरहेको छ।
पिकलबल एशोसियसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन्। एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरू पनि सहभागी भएका छन्।
यी विद्यालयका विद्यार्थी खेलाडीहरूले एक-आपसमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा थापाले एक म्याच खेलेका थिए।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०