राजनीति

संविधान संशोधन गर्न हतारो गर्न हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टी र पक्षहरू मिलेर देशका समस्या समाधान गर्नुपर्ने परिस्थिति आएको बताएका छन्।

मंगलबार पार्टी कार्यालय च्यासमा आयोजित संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले देशकाप्रति जिम्मेवार भएर एकतावद्ध हुनुपर्ने र समस्या समाधान गर्नुपर्ने बेला आएको बताए। उनले त्यसो हुन नसके धेरै प्रकारको खतराहरूबाट जेलिन सक्ने बताए।

प्रमुख राजनीतिक दलहरूको नेतृत्वमा धेरै आन्दोलन र बलिदान भएकाले दलहरू गम्भीर भएर अहिलेका उपलब्धीलाई रक्षा गर्नुपर्ने उनले बताए।

अध्यक्ष ओलीले देशमा सुशासन ल्याउनका लागि एमाले प्रतिवद्ध रहेको र स्वार्थका लागि देशमा राष्ट्रिय एकता खल्बलिन दिन नसक्ने बताए।

उनले गम्भीरताभन्दा भावना र प्रायोजित तथा आयातित कुराबाट दबाब देखिरहेका हुँदा संविधान संशोधन गर्न हतारो गर्न नहुने धारणा राखे।

ओलीले तत्कालीन अवस्थामा संविधान जारी नगर्न नेम्वाङलाई दबाब आएको भए पनि बलियो अठोटका कारण संविधान जारी भएको स्मरण गरे।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको संविधान निर्माण गर्दा भएको असाधारण सहमतिमा स्वर्गीय नेम्वाङको भूमिका सदैव स्मरणीय रहने बताए। उनले अहिले संविधानलाई कार्यान्वयन गर्ने प्रक्रियामा सचेत नदेखिएको र जनतालाई पनि राम्रोसँग बुझाउन नसकिएको बताए।

खनालले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई पूरा गर्दै अघि बढ्नुपर्ने र संविधान अनुसारको कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी हुँदा भएको दलहरूबीचको समझदारी त्यसपछि भने टुट्दै गएको बताए। उनले संविधानले स्थापित गरेको अधिकारको कार्यान्वयनमा चुकेको धारणा राखे।

सिटौलाले सत्तापक्ष र प्रतिपक्षी सत्ताको खेलमा मात्रै लागे पाँच वर्षसम्म पनि संविधानको सफल कार्यान्वयन हुन नसक्ने तर्क गरे।

त्यस्तै, पूर्वसभामुख ओनसरी घर्तीले दलहरूबीच छलफल र वार्ता बनाई राजनीतिमा देखिएका संकटलाई समाधान गर्न नेम्वाङले खेलेको भूमिका सम्झिइन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०

प्रतिक्रिया दिनुहोस्