राजनीति

नेतृत्वलाई दबाब दिने शेखर कोइराला समूहको निर्णय

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरूलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएका छन्।

आसन्न केन्द्रीय समिति बैठकअघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५ औं महाधिवेशन गर्ने तयारी लगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समीक्षा हुनुपर्ने र भएका कमी-कमजोरीका बारेमा सुधार गरेर जाने विषयमा छलफल भएको बताए।

उनले महासमितिको एजेण्डा तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यको विषयलाई टुंग्याउनका लागि तयारीबारे छलफल भएको जानकारी दिए।

त्यस्तै, अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्नुपर्ने र सन्तोषजनक अवस्था नरहेकाले जनता केन्द्रित काम गर्नुपर्नेमा बैठकको जोड रहेको उनले बताए।

त्यस्तै, कांग्रेस नेता सञ्जय गौतमले पार्टी र सरकारको कार्यसम्पादन प्रभावकारी बनाउनका लागि केन्द्रीय समितिमा ध्यानाकर्षण गराउने बताए।

उनले कोसी प्रदेशमा पनि सरकार गठन गर्दा कांग्रेसले लिएको निर्णय न्यायसंगत नभएको निष्कर्ष रहेको जिकिर गरे।

कोइराला समूहले विभिन्न विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने जनाएको छ। कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बोलाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०

प्रतिक्रिया दिनुहोस्