राजनीति
हमास समूहले लगेका विद्यार्थी विपीन जोशी सकुशल रहेको परराष्ट्रको दाबी
सम्पर्क स्थापित गर्दैछौं, चाँडै उद्धार हुन्छ : सेवा लम्साल


इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमण गरी गाजातर्फ लगेका विद्यार्थी विपीन जोशी सकुशल रहेको पत्ता लागेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार जोशी सकुशल रहेको आइतबार राति पत्ता लागेको हो। उनी गाजास्थित एक अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ।
‘त्यहाँको दूतावास तथा सरकारी निकाय हुँदै हामीलाई जोशी सकुशल रहेको खबर आएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘उहाँ एक अस्पतालमा रहेको जानकारी आएको छ।’
तर, उनीसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको लम्सालले बताइन्।
सोमबार सरकारको सबै संयन्त्र लगाएर उनीसँग सम्पर्क स्थापित गर्ने प्रयास रहने उनले बताइन्।
‘सम्पर्क स्थापित भएपछि हामी तुरुन्तै उद्धार गरी नेपाल ल्याउँछौं,’ उनले भनिन्।
यता, त्यहाँको राजदूतावासले सोमबार नै विज्ञप्ति जारी गरी जोशी हमासको नियन्त्रणमा रहेको जनाएको छ।
भीमदत्त नगरपालिका-३ का जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।