राजनीति
युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम माइतीघरमा गर्न नदिइने


जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।
सोमबार दुबै पक्षसँग छलफलपछि प्रशासनले माइतीघरमा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।
‘प्रशासनले दुबै पक्षसँग छलफल गरेको छ, दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रुपमा प्रतिवद्धता जनाएका छन्,’ प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले भने।
दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएका छन्।
एकै ठाउँमा दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा खतरा हुने आँकलनसहित प्रशासनले यस्तो निर्णय गरेको हो।
कुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारेमा छलफल गरेर दुबै पक्षलाई कार्यक्रम गर्नेबारे बताइने बस्नेतले बताए।
मेडिकल व्यवसायी प्रसाईं हिन्दु राष्ट्र र राजसंस्थाको मागसहित प्रदर्शनमा मानिसहरू उतार्दैछन्।
उनी र एमाले नेता महेश बस्नेतबीच विवाद छ। यही विवाद चुलिँदै जाँदै दुबै पक्षले प्रदर्शन गर्न लागेका हुन्।