साहित्य
मैले अनुरागलाई माया गरेकै हो


खै, दुबै हातमा मेहेन्दीले कस्तो रंग ल्याएछ हेरौं।
‘ओहो! कस्तो गाढा हेर्दै अनुमान लाउन मिल्ने। ज्वाइँले त खुब गाढा माया गर्छन् जस्तो छ त,’ दिदीले यति भनिसक्दा म आफ्ना विगतका यादहरूको त्यान्द्रोबाट भुइँमा खसिसकेको थिए।
तुरुन्तै जवाफ फर्काइहालें, ‘जाबो! मेहेन्दी न हो, यसले पनि के अनुमान लाउन मिल्छ र त्यसै गफ।’
‘हेर्दौ जा न, मेरो अनुमान फेल खाँदैन है।’
साँच्चै कति जिद्दी छे मेरी दिदी, अनि कति निर्धक्क पनि।
दिदीको कुरामा असहमति जनाउँदै मैले आफ्ना तर्क राख्नें।
‘म भित्र अब कुनै शक्ति बाँकी नै छैन।’ म आफूलाई निर्बल घोषित गर्दै, मुस्कुराएर उसैको कुरामा ‘हवस्’ भन्दै सहमति जनाउँछु।’
‘ल, ल हेरौंला है,’ यति भन्दै म कुरा टुंग्याएर त्यहाँबाट भागेर एकान्त बासमा पुग्छु। उही मेरो आफ्नै कोठा।
अनि एकपल्ट मज्जाले नियाल्छु वरिपरि।
मेरो प्यारो कोठा, भोलिबाट मैले तिम्रो ख्याल राख्न पाउने छैन। सायद, अब हाम्रो यो घनिष्ठ सम्बन्ध पनि उही नरहला।
तर, म तिमीप्रति कृतज्ञ छु। मेरा अनेकौं पीडाका कथाहरू मैले तिम्रा भित्ताहरूसँग बाँडेकी छु। ती अनिद्रा रातहरूमा पनि मैले तिम्रै सेरोफेरोलाई आफ्ना आँखाभरि राखेकी छु। तिमी म सँग दोहोरो संवाद त गर्दैनौं तर मलाई सुनिदिन्छौ।
मलाई म भएर रमाउन दिन्छौ। रुन दिन्छौ। बोल्न दिन्छौ। र, बाँच्न दिन्छौ आफ्नै बनेर।
मेरो प्यरो कोठा, मेरो एकान्तबासको मुख्य आश्रय नै तिमी हौ। तर, भोलिबाट सबैथोक परिवर्तन हुँदैछ।
मेरो अस्तित्व। मेरो परिवार। मेरो घर। अनि मेरो प्यारो कोठा। भोलिबाट तिमी पनि फेरिँदै छौ।
‘कोठा भित्र को छ?,’ सन्ध्याको आवाज सुन्नासाथ म होसियार भएँ। आफूभित्रै चलिरहेको द्वन्द्वलाई रोक्ने प्रयास गरें अनि जवाफ फर्काए।
‘कोठाभित्र म छु, भित्रै आऊ न।’
मेरो निम्तो स्वीकारेर मेरो बिहेसम्म आइपुगेकी मेरी सखीलाई कोठाभित्र आउने अनुमति नदिने त कुरै थिएन।
सन्ध्यालाई देख्नासाथ मलाई आफ्ना विगतले काउकुती लाउन थाले।
त्यही पुराना कलेजका यादहरू। अनुरागका यादहरू। ताजा हुन थाहे ती सबै चोटहरू।
मैले अनुरागलाई माया गरेकै हो। जीवनभरि उसको सुख-दुःखमा साथ दिने कसम नखाएको होइन। हरेक पटक मन्दिर धाउँदा उसलाई पाउने इच्छा राखेकै हुन्थें। आफ्नो हरेक प्रार्थनामा उसकै नाम लेखेकी हुन्थें अनि एकदिन भगवान म प्रति कृपालु भएझैं लाग्यो। अनुरागले स्वयम् मायाको पहिलो कदम चाल्यो अनि त्यो कति पवित्र अपवित्र थियो, उसैले जान्दछ। मेरो नजरमा त त्यो मैले पाएको पवित्र वरदानस्वरुप थियो।
मेरो निम्ति त्यो भावना सर्वस्व थियो, मेरो अनुराग।
तिम्रो नजिक हुँदा खुब आत्मसन्तुष्टि मिल्थ्यो। तिम्रा हरेक व्यवहार अनि म प्रति तिमीले देखाएको त्यो आत्मीय सम्बन्ध। उफ! म आफ्नो भन्दाबढी तिम्रो भइसकेको थिएँ।
तर, यी सबैलाई हतियार बनाएर नराम्रो खेल खेल्यौ तिमिले मेरो भावनासँग, मेरो मनससँग। अनि एकदिन तिमीले साँचेर राखेका मेरा गल्तीहरूको संरचनाबाट ठूलै पाठ पढाएर गयौ। जीवनमा खुब उन्नतिको शिखर चुम्नु, मेरो शुभकामना।
बेला-बेला तिमी यादमा आउने गर्छौ अनि मन नै अमिलो बनाएर जान्छौ। बैगुनी तिम्रो माया न त तिमीलाई बिर्सिने अनुमति दिन्छ न त माया गर्ने छुट नै।
मंसिर महिनाको १२ गते।
‘साँच्चै क्यालेन्डरबाट यो मिति हटाउनै मिल्दैन र?,’ म भावुक भएँछु सायद। के बोल्दैछु भन्नेसम्म चाल पाइनँ।
तर, मेरो प्रश्न भुइँमा खस्न नपाउँदै ‘हैन के भन्दै छस् त हँ? तेरो होस् त छ नि?’ भन्दै मेरो प्रश्नमा प्रतिप्रश्न गर्दै मलाई हप्काउदै सम्झाउँछे मेरी साथी।
‘झन् भोलि त खास दिन हो, हामी सबैका निम्ति। तेरो बिहेको दिन! परिवारमा खुसीको दिन! तेरो भाग्य फेरिने दिन!’
‘ओई कहाँ हराएकी हँ?,’ सन्ध्याको आवाजले झस्किन पुगेंछु।
‘कतै हैन, तँलाई देखेर कलेजका सबै यादहरू ताजा भए। के-के बोलेंछु होस् नै पाइन यार। बिहेमा आइस् खुसी लाग्यो।’
मेरा कुराहरू सक्न नपाउँदै मेरो हातमा आफ्नो हात राख्दै अंकमाल गर्दै सन्ध्याले सोधी- अझै अनुरागको याद आउँछ हो?
‘अहँ आउँदैन, छोडेर जानेको किन याद गर्नु र? आफ्नो खुसी खोज्न भनी मलाई छाडेर हिँडेको फेरि उसलाई आफ्नो यादहरूमा जबरजस्ती बाँधेर राख्नु कति पनि जायज हुँदैन,’ मैले भनें।
उसलाई जवाफ फर्काएर आफ्नो मन हलुका भएको अनुभूति भयो।
‘खुसी त छस् नि?,’ सन्ध्याको अर्को प्रश्न निकै सरल थियो।
तर, मसँग त्यसको उत्तर थिएन। यद्यपि, जवाफ फर्काउनु आफ्नो कर्तव्य ठानेर ‘दु:खी हुने कारण छैन त्यसैले खुसी छु’ भनिदिएँ।
मेरो यो जवाफले सायद उसको प्रश्नको प्यास मेटाउन सकेन। एकछिन केही बोलिन। अनि भन्न थाली - जीवन अगाडि बढ्नको लागि हो। प्लीज यार अब बिर्सिएर अघाडि बढ्।
‘चार वर्ष बित्न लाग्यो। उसले बिहे गरिसक्यो। जीवनमा अगाडि बढिसक्यो। तर, त किन यसरी आफूलाई तड्पाउँदै छस् हँ?,’ उसले फेरि प्रश्न गरी।
उसको प्रश्नले मनमा तरंग पैदा गर्यो। आखिर म किन यो सब गर्दैछु? आफैंलाई सजाय दिनु पनि त अपराध हो। त्यसो भए म एक अपराधी हो।
सन्ध्याले मलाई ऐना देखाएर गई, जहाँ मैले आफूलाई निकै कुरुप र लाचार पाएँ।
‘ल, ल अब सुत, धेरै सोच्नु पर्दैन जे हुन्छ राम्रै हुन्छ, सुत है, म पनि सुत्छु।’
यति भन्दै सन्ध्या आफ्नो सुत्ने बेवास्ता मिलाउनतिर लाग्छे। अनि मैले पनि टाउको हल्लाउँदै ‘हुन्छ’ भनिदिन्छु।
मेरो बिहेको निम्तो पाएर अघिल्लै रात आएकी मेरी साथीलाई के भनेर आफ्ना वर्षौंदेखिका मनभित्रै गुम्सिएका भावनाका पोकाहरू फुकाउनु? के कुराले यति बेचैनी बढाउँदैछ मभित्र? आजभन्दा पहिले पनि यस्तो बेचैनी त भएकै थियो तर आफ्नो जिन्दगी यस्तो रनभुल्ल हुनसक्छ भन्ने लगेको थिएन।
जे होस्, मैले यो तीतो सत्यलाई पिएर भोलि आफ्नै बिहेमा सामेल हुनैपर्ने छ।
चाहँदा नचाहँदै पनि सबैका सामु मुसुक्क नयाँ बेहुली मुस्कुराउनै पर्छ।
मैले मेरो विवाहको लागि आफूलाई तयार बनाउनै पर्छ। र, मैले यो नाटकको मुख्य भूमिका निर्वाह गर्नैपर्छ।