साहित्य

भोगाई र गन्तव्य

मणि दाहाल।

वसन्तको झलमल्ल खिया लाग्यो बहार 
उपेक्षित  जीव लिलामाथि बज्र प्रहार।
असरल्ल छरिएका वाणीको रूप लुप्त 
समयको रस चुम्न झुल्किई फुत्त गुप्त।।

कहेर पनि नसक्नु सहेर छैन साध्य
छायाँ परिकन तथ्य गुम्सिएरै असाध्य।
उद्यम जति थुनिए कौडीको खालमाथि 
परतिर फुलबारी खोस्रने  खान्छ लात्ती।।

पर पनि किन हुन्थ्यो शान्तिले जिउने गाँस 
कर परी घर खर्च बन्धकीको प्रवास ।
चरन बनी खोरिया बस्तीमा शून्य झुप्रो  
घाटतिर शव यात्रा बयोबृद्ध र कुप्रो।।

फटफट मुख मात्र पेट शान्त हुँदैन
दारूणता दिनचर्या हेर्दिने भावी छैन।
मोठमाथि नयाँ राजा मस्किएर गज्जक्क
 कर मारी तर च्यापी बल्दो रूप धपक्क।।

विधाताको पनि कैलै खुल्दैन बुद्धि बिर्को 
हितकारी पनि छैन दिएको एक चिर्को
बलवान खुसी बन्ने निम्छरोको रूवाई 
दायाँबायाँ छुसी पाउ मोल्नेको छ दुहाई।।

बाँसुरीको धुनभित्र मस्त छौ छाना जल्दा 
रूप फेरिकन लुक्छौ लुम्रो शरीर गल्दा
चुपचाप कति बस्नु कुरा साँची मनैमा 
जगदीश अब सोच पस्नु पर्ला वनैमा।।

अति पनि कति गर्छौ  निर्धा गण रूवाई 
ओढिकन सेवा घुम्टो मालिक रंगलाई।
आवेगको घडा ताती लालची ताल्चा फोरी
आवेशको भेल आई भर्ला कालो कोठरी।।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९

प्रतिक्रिया दिनुहोस्