साहित्य
काठमाडौंमा चिया-नास्ता पसल खोल्ने स्वतीको अधुरो सपना


करिब पाँच वर्षदेखि पुस-माघको कठ्यांग्रिँदो जाडोमा ४ बजे बिहानै स्वती भक्का बेच्न जान्थिन्। यसरी भक्का बेचेको पैसाले काठमाडौंमा सानो चिया-नास्ताको पसल खोल्ने सपना उनको थियो।
उनले काठमाडौंमा रहेका दिदी भिनाजुसँग पनि कुरा गरी पसल खोल्न सटर खोज्नसम्म भनेकी थिइन्। यो कुरा स्वतीले मलाई सुनाएकी थिइन्।
स्वतीका श्रीमान् भने अलि मादक पदार्थ पिउने गर्थे। स्वतीलाई सल्लाह दिएँ- तिमीहरू बुढाबुढी दुबै जानुपर्छ, एक्लै हुँदैन।
मेरो कुरालाई स्वतीले स्वीकार गरिन्। स्वती मेरै घरमा विवाह गरेर आएकी हुनाले उनी घरकै सदस्यजस्तै थिइन्।
सल्लाहअनुसार स्वती र उनका श्रीमान् लखनले काठमाडौं जान भनी बसको टिकट लिए। मैले के कति पैसा लिएर जाँदैछौ? भन्दा ‘छ लाख रुपैयाँ’ भनेर स्वतीले भनिन्। ‘राम्ररी जानू’ भनेर दुबैलाई बिदा गरिदिएँ।
दुबै काठमाडौं पुगेको खबर पनि आयो। स्वतीको दिदीले कोटेश्वर चोकदेखि भित्रपट्टी ९ हजार मासिक भाडामा सटर खोजी दिएकी रहिछिन्। पुगेको भोलिपल्ट दिदी, भिनाजु, स्वाती र श्रीमान पसल गर्ने ठाउँ हेर्न पुगे। मन पनि पर्यो।
यतिकैमा स्वतीका श्रमिान् र भिनाजु डेरातर्फ लागे। स्वती र उनकी दिदी भने तरकारी किन्न लागे। उनीहरू डेरा पुगे र खाना खाई पशुपतिनाथको दर्शन गर्न जाने कुरा भयो।
यतिकैमा स्वतीका श्रीमानले ‘तिमीहरू जाऊ म जान्न’ भनेर डेरामै बसे। पशुपतिको दर्शन गरेर डेरातर्फ लाग्दा स्वतीका श्रीमान् लखन र उनका भिनाजु बचु दुबै थिएनन्। दिदीबहिनीले घुम्न गए होलान् भनी चुपचाप खाना बनाउन लागे।
रातिको १० बजिसक्दा पनि दुबै आएनन्। स्वतीलाई कता-कता मनमा शंका लाग्यो र मोबाइलमा फोन गरिन्। दुबैको स्वीच अफ भयो।
स्वतीले हतार-हतार आफ्नो पैसा राखेको बाकस खोल्दा पैसा पनि थिएन। स्वती छाँगाबाट झरेझैं भइन्। ‘कति दिनदेखि सपना देखेकी थिएँ, आज लखनले त्यो पनि पूरा हुन दिएनन्’ भन्दै रुन लागिन्।