साहित्य

भालुलाई पुराण

मणि दाहाल।

बाचाका भरोसा शून्य पथका तगाराहरू
विरूप कर्मका गन्धे गद्दीमाथि कसो गरूँ
मोक्षको आशले निर्धा रूपहरू अघिपछि 
रक्तको कणमा ताण्डव नृत्य गर्छौ बसिबसि।।

खिच्चाको भेषका भद्र छुद्रको रूपमा कति  
निर्वश्त्र उदांगो वर्ण उफार्न व्यस्तता अति 
उडन्ते ज्ञानको चास्नी सजाई मतलवी मन 
ढलको जलमा यात्रा  गर्न तम्सी झनझन्।।

मोक्षको नसालु रक्सी पन्चामृत घोलीकन  
उदायौ ठालुमा एक्लै हिस्सियो जनजीवन 
हरेर भाग्यको पर्दा  रम्ने हो!  अलिसानमा 
अतिमा खति नै हुन्छ  हेक्का रहोस् ज्ञानमा।।

उर्लंदो खहरे भेल उन्मत्त भै कराउँछ 
निष्ठाको चट्टानी यात्रा खोपीभित्र हराउँछ ।
पथका दुर्नामी किर्ना झुम्न पुग्छ वरिपरि  
मोक्षको पथमा प्याधा बन्न खोज्छ घरिघरि।।

सीताको गीतामा मख्ख  सुण्ड मुण्ड खडा गरी 
नक्कली बुज्रुक बन्दै झुटको कनिका छरी
 भरोसा अग्निमा होम्दै  बम्केर विगुत घसी 
आँशुको आहालभित्र राज गर्छौ बसिबसि।। 

चम्किन्न मुहार किन्तु  गफाडी भिडको भर
युगिन ज्वालाको मुस्लो झांगिदै छ वरपर 
 कम्सल नीतिको खोस्टो नासिन्छ तुसारो सरी 
बतासे अण्डामा  चल्ला निस्कदैन कसैगरी।।

अबुझ कुम्भको लर्को गर्दैन शिकार रति
उल्फाको लाभमा चैन हुने छैन अलिकति 
मुतको तापमा राप आएको भ्रममा परी  
नसोच  युगको भुंग्रो निभाँउछु  सधैंभरि।।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९

प्रतिक्रिया दिनुहोस्