साहित्य

म अनि तन्त्र

मणि दाहाल।

स्याउलाको घरबास बालुवा थुप्रोमाथि 
पिठमा छ दुधे नानी जाउलोको तलासी
बगरको धुलो चुम्दै  हतौडी हान्नेलाई
उठाउने जग  के हो  मन्त्र भन मलाई?।।

पराइका चोक गल्ली  सेकिई रापभित्र 
झिलिमिली बिहानीमा पुन्जको मानचित्र।
धरणीको उपाहार सृजना कुन्जलाई
खोरियामा सजाउने मन्त्र देऊ मलाई।।

समताको गीता पाठ बिस्कुन चिसो जैलै 
घोकाएको दशकौं भो पूर्णता छैन कैलै 
जाने ठाउँ पनि छैन बामे सरेर अन्त 
समताको परिभाषा बताऊ प्रिय मन्त्र।।

अगस्तीको हुलभित्र शंखनाद अनन्त 
रमिताको गाईजात्रा पचाएको वसन्त 
छाना माना न त न्यानो नानाको छ प्रबन्ध 
उदेक छु हेर मन्त्र  कसले खोस्यो सुगन्ध?।।

असत्तिका भूतप्रेत सल्बल लोकभित्र
च्यापिकन गजुरमा रमेको वृत्तचित्र 
नियालेर मन मार्नु पर्ने हो कैलेसम्म? 
नबुझाई किन पर्छौ फुर्ती लाएर गम्म?।।

कारूणिक परिधि छ कौसीमा भ्रष्ट जत्था
गिजोलेर विधि पुन्ज रमाउँदै छरस्ट 
गोलघरबाट तानी हर्ताकर्ता बनाई 
पालित गरी पोस्ने मान्छे भन मलाई।।

निसाफको लिलामीमा माथिकै माखेसाङ्लो 
गगनभरि व्याप्त द्वारमै थापी नाङ्लो 
मात्तिएर ज्यान चुस्ने भण्डारे हंशलाई 
फुकाएरै किन राख्छौ मन्त्र भन मलाई?।।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९

प्रतिक्रिया दिनुहोस्