साहित्य
आमाभन्दा ठूलो देवता कतै भेटिएन


संसारभरि सुख खोंजे कतै भेटिएन,
सिंगै सागर पाउँदा पनि तिर्खा मेटिएन,
कस्तुरीझैं दौडिरहें स्वर्ग देखिएन,
आमाभन्दा ठूलो देवता कतै भेटिएन
आमा...बोल्ने देवता आमा।
निलकण्ठ बनी सारा विष पिउन सक्ने,
पिर व्यथा छातीभित्र लुकाई हास्न सक्ने,
अपेक्षा नि छैन केही सधैं दिन सक्ने,
उपेक्षा नि छैन सधैं क्षमा गर्न सक्ने,
प्रगतिको खबरबाहेक केही चाहिँदैन,
आमाभन्दा ठूलो देवता कतै पाइँदैन,
आमा...बोल्ने देवता आमा।
सन्तानको बाटो हेर्दै बित्छ जिन्दगानी,
सन्तानको सामु केही होइनन् घामपानी,
सधैं-सधैं हारिदिन्छिन् आफैं जानीजानी,
कहिले पनि नरितिने ममता कि खानी,
यस्तो तीर्थ हिमाल सागर केहिले छेकिँदैन,
आमाभन्दा ठूलो देवता कतै भेटिदैन,
आमा...बोल्ने देवता आमा।
मिल्नेभए पिरव्यथा आफैं बोकिदिन्थिन्,
सन्तानको साटो बरू आफैं रोइदिन्थिन्,
केही मिठो पाउँदा सधैं सन्तान सम्झिइने,
दु:ख देख्दा सपनीमै पनि झस्किइने,
यस्तो देवता छोडी अब कतै धाइँदैन,
आमाभन्दा ठूलो देवता कतै पाइँदैन।
आमा...बोल्ने देवता आमा।