साहित्य
सपना अनि छोरी


प्यारी छोरी,
तिम्रो चन्चलता र चुलबुलेपन
पक्कै बालापनको सुन्दर उपहार हुन्,
अहिले तिमी सानी छौ, फूलजस्तै प्यारी,
तिमीलाई थाहा छैन छोरी,
जिन्दगीको कुनै रंग हुन्न, तर पनि रंगिन लाग्छ,
जिन्दगीको कुनै स्वाद हुन्न, तर पनि कति मिठास लाग्छ,
आखिर यी सबै अनुभूति न रहेछन् छोरी,
त्यसैले,
तिमीले बुझ्नुपर्छ,
यो संसारमा तिमी एक्ली छौ, तर संसार केवल तिम्रो हो।
यो सम्बन्धहरूको विरोधाभासको परिभाषा तिमीले आफैं लेख्नु छ।
समय तिम्रो अनुकूलतामा हिँडिदिएन भने,
सम्झनु,
तिमीले तिम्रो आत्मविश्वासको जग अझ मजबुत बनाउन एउटा इट्टाको भारी पक्कै थप्न पर्छ।
तब मात्र तिमीले जिन्दगीको कथा लेख्ने कलम समात्न सक्छौ।
ममताको खडेरी परिरहेको आज
भोलिको भविष्यको सपना कसरी देखाउन सक्छु म
त्यसैले छोरी
तिम्रा जिन्दगीका हरेक आयामहरू,
फरक एंगलबाट,
ओल्ट्याई पल्टाई,
लेख्ने क्रम तिमीले नै जारी राख्नुपर्छ,
जिन्दगी त यस्तै हो,
कहिले दुख्छ, त कहिले मुस्कुराउछ,
कथा बन्ने क्रम नै यही हो,
यदि
जिन्दगीका यस्तै कथा लेख्दा लेख्दै कलमको मसी सिद्धिएछ भने पनि
जीवनका तीता-मिठा रगंहहरूले जीवनका सुन्दर कथा लेख्ने प्रयासमा लागिरहनु।
कला र सृजनालाई समयले कहिल्यै मर्न दिँदैन छोरी
त्यो तिमीले बुझ्नुपर्छ
त्यसैले,
हार भनेको संर्घष हो, जित संर्घषमै भेटिन्छ,
पटक-पटकको हारभित्र लुकेको जितको कथा जोगाउनुपर्छ तिमीले
सपनाको फूल फुलाउनुपर्छ तिमीले
जीवनमा पनि मौसम परिवर्तन भइनैरहन्छ,
बहार सँगै उड्न खोज्ने मनलाई
बस्, थाम्ने सामर्थ राख्नुपर्छ तिमीले।
त्यसैले,
तिमीले यो बुझ्न जरुरी छ,
कहीँकतै कोलाहलभित्र पसिहाल्यौ भने पनि
आफैंभित्र शान्ति खोज,
तब एकान्तमा पनि तिमी आफूभित्र विश्वासको साथ पाउनेछौ।
तिमी संसार जित्ने साहस जुटाऊ
बस, तिम्रो जिन्दगीका सुन्दर कथाका पानाहरूमा
समयले बेजोड खुसी रगंहरूका माध्यमद्वारा
शब्दहरू आफैं भरिदिनेछन्।
त्यसैले जित्न सिक, बस आफैंसँग
उमङ्ग खोज आफैंसँग,
सुख र खुसीको दरिलो माला तिमीभित्र आफैं उनिँदै जान्छन्।
बस, यही छ तिमीलाई मेरो आशीर्वाद अनि शुभकामना।