साहित्य
म मेरो विचारको बारुद बोकेर आउँछु

आभुषण तिम्सिना
वैशाख ३०

अब लड्ने हो साथी
तिमी पनि आऊ है
तिमी तिम्रो विचारको तोप बोकेर आऊ
म मेरो विचारको बारुद बोकेर आउँछु
अन्यायको दुश्चक्रका पहरेदारलाई
परास्त गर्न सहज नहोला
तिमी पनि थाकौला
म पनि थाकौंला
तर हाम्रो निचारको बारुद थाक्ने छैन यहाँ
तिमीभित्रको विचारको तोप थाक्ने छैन यहाँ।
अन्यायको दुश्चक्रका मतियारहरूले
हिजो कोसी बेचे, कर्णाली अनि महाकाली बेचे
हिजो हाम्रो स्वाभिमानलाई दास बनाए
आज त यिनले नागरिक नै बेच्न थाले
नागरिक बेच्ने धन्धा चलाउने थाले
नागरिकलाई अनागरिक बनाएर आउने पैसाले
यिनले आफ्नो र आफ्नाको लागि महल जोडे
आफ्नो महल बनाउन यीनले नागरिकका सपना बेचे।
त्यसैले, आउ साथी हो!
तिमी पनि अब लड्न आऊ साथी
तिमी पनि आउ है
तिमी तिम्रो विचारको तोप बोकेर आऊ
म मेरो विचारको बारुद बोकेर आउँछु।।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०