साहित्य
यात्री


निरन्तर यात्रामा
यात्री बनेर बाटो हिँडिरहँदा
बटुवा हजार हुन्छन् बाटो बाटोमा
अनेक मोड घुम्तीहरू पार गर्दैगर्दा
दोबाटो र चौबाटोमा बाटो छुट्टिँदै जान्छ
मोड र घुम्ती अनुसार
यात्री मोँडिदै जान्छन्
हरेक चौबाटो र दोबाटोमा
एउटा छोडिन्छ, अर्को भेटिन्छ
अर्को छोडिँदा अर्कै भेटिन्छ
बाटो एउटै लक्ष्य बेग्लाबेग्लै
बेग्लै लक्ष्य दोबाटो र चौबाटोमा छोडिन्छ
घुम्ती र मोडमा बाटो मोडिँदा
हरेक बिसौनीमा मारिएका थकानहरू
चौबाटो, दोबाटो, मोड, घुम्ती, बटुवा
सम्झना बनिरहन्छन् याद बनेर
बाटोको अन्तिम बिन्दु नपुगेसम्म
लक्ष्य समात्नु छ
उदेश्य पूरा गर्नु छ,
घुम्ती र मोड अनुसार
कोही दोबाटोमा छुट्टिए, कोही चौबाटोमा
मृत्यु अगाडि नै पाइला टेक्नु छ शिखरमा
यात्रा पूरा नभएसम्म
यात्री बनेर हिँडिरहँदा
यात्रा निरन्तर चलिरहन्छ
हरेक नयाँ दिनमा,
नयाँ बाटोसँगै नयाँ उमंग बोकेर।।