साहित्य

पहिचान नखुलेकी म

सञ्जु सुवेदी।

सुनौ कि नसुनौं
पहिचान नखुलेकी म 
तिम्रा बजेटका भाषणहरू
समृद्ध नेपालका मिठा नाराहरू, 
दिगो विकासका मजबुत एजेन्डाहरू,

जन्मिएँ, मर्ने बेला पनि भयो 
न त म सँग ओत लाग्ने छानो छ,
न त भोक लाग्दा पेटभरि खाने मानो छ!
 
टुकु टुकु हिँड्दा यही आँगनमा थिएँ,
मेरा बा र आमाले भनेको जन्मँदा यही अगेनीको डिलमा थिएँ, 

Sanju1689396387.jpg
यो रचना बेलबारी नगरपालिका-५ मटियारीमा बसोबास गर्ने मुसहर बृद्धा (पार्वती ऋषिदेव पारो) सँगको जीवनमा आधारित छ। 

यो अगेनी र आँगन त नेपालभित्रै छ भन्छन् 
तर मेरो कुनै पहिचान नै छैन भन्छन्  
हो पहिचान खुल्ने नागरिकता त बनेको छैन, 
बनाउन जाँदा पनि त 
तेरो पहिचान खुल्ने नागरिकता बनाउन आवश्यक कागजको प्रमाण नै छैन भन्छन्

मेरो मात्र कहाँ हो र! 
मेरो टोलका लगभग २७/२८ जनाको 
पहिचान खुल्ने नागरिकता बनेको छैन, 
समुदायमा त कैयौं को बनेको छैन 

जन्मदर्ता बन्न नसकेर बालबालिका विद्यालय भर्ना समेत हुन सकेका छैनन् 
नागरिक्ता नभएर युवाहरू 
कुनै दिगो रोजगारमा आवद्ध हुन सकेका छैनन्, 
आफ्नो जिन्दगी र समुदायको जीवनयापन गर्ने
दिगो व्यवस्थापनको लागि  दिगो आधार पहिल्याउन सकेका छैनन् 
अनि कसरी होला देशमा दिगो विकास?
अनि कसरी बन्ला समृद्ध नेपाल?

हो पहिचान नखुलेकी म सँग 
मेरो उमेर अन्दाज गर्ने कुनै आधर नै छैन 
अन्दाजमा ५०/५५/६०/६५ मेरो उमेर कति पो भनौं...? 
हेर त मेरो यो शरीर 
अनि भन त 
मेरो शरीरको यो अवस्थामा पुगेर 
जीवनकै समाप्ति हुन लाग्दा पनि 
छानो, मानो, पहिचान केही पनि नभएपछि 
जाडो छल्न आङ ढाक्ने पछ्यौरीसमेत नहुँदा पनि 

सुनौ कि नसुनौं
पहिचान नै नखुलेकी म 
तिम्रा बजेटका भाषणहरू, 
सम्बृध नेपालका मिठा नाराहरू,
दिगो विकासका मजबुत एजेन्डाहरू।।

sanju21689396466.jpg
पारो दिदी २५ दिनसम्म पौढ शिक्षामा सहभागी भएपछि। 

Sanju11689396467.jpg

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०

प्रतिक्रिया दिनुहोस्