साहित्य

बन्नु छ बराबरी [सार्दुल बिक्रिडित छन्द]

चन्द्रकुबेर खापुङ।

तिम्रो आधारबाट देखिएजस्तो, मात्रै कहाँ हुन्छ र
त्यो क्षितिजमा पनि त आकाशले, धर्ती कहाँ चुम्छ र 
घुम्ती नै घुम्ती छन् यहाँ सजिलै, यात्रा काँ मोडिन्छ र
आफ्ना स्वार्थ अनुकूल बनेका छन्, रित काँ तोडिन्छ र।१।

अचम्म पर्छन् दूध र भात पनि, खान पाउन्नन् भनी
दु:खीका दिन बित्दछन् पेटभरि, खान पाउने दिन गनी
उल्झन्हरू छन् कदम कदममा, अघि बढ्ला कि भनी
मलजल गर्छन् जानी नजानी त्यसमा, हाम्रा घरैका पनि।२।

बोझ छ घर र वनको एकैसाथ, सन्तान हुर्काउने 
सम्हाली सृष्टिको यो बाग बगैंचा, संसार फुलाउने 
सबैले देख्दछन् रमझम गरेको, रोएको को देख्छ र
सबैले पढ्ने उही मनुस्मृति, नयाँ खोई को लेख्छ र।३।

कसिएको छ नि साङ्लो युगौंदेखि, त्यसै काँ तोडिन्छ र
गर्भैदेखि गढिएको मनभरि, यसै काँ छोडिन्छ र
उड्नलाई पंख लगाऔं ज्ञानको, नत्र काँ उडिन्छ र
उकेरा मात्र लगाई जराजरा, सम्म काँ गोडिन्छ र।४।

मागेर खोसेर पुग्दैन सधैंभर, मिहेनतले शिर झुक्छ र
बिरुवा रोपे पो सधैं फल फल्छ, दिएको के पुग्छ र
रोपौं बिरुवा र हालौं मलजल, ऐश्वर्य मिल्छ तब
भाग्य र कर्मलाई दोष दिएर, बस्नु हुँदैन अब।५।

गर्नु छ लोकलाई यही जुनीमा, मरेसी के गर्नु र
सग्लो छँदै घडामा विवेक भरौं, चर्केसी के भर्नु र
के जात धर्म, के लिङ्ग वर्ण क्षेत्र, बाँच्नु छ सरोबरी
जागौं उठौं अनि उठाऔं सबलाई, बन्नु छ बराबरी।६।

(लेखक नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हुन्)

चन्द्रकुबेर खापुङका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: सोमबार, असोज १, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

रमा पौडेल
फागुन ८
नवपथ संवाददाता
पोखरा, फागुन  ४
राजेन्द्र कार्की
फागुन ३