साहित्य
आमा र कैली गाई


आमा हुनुहुन्थ्यो र
कैली गाई थियो,
सम्झिँदा पनि कथाजस्तै लाग्छ।
कहीँबाट सस्तोमा
आमाले डोर्याउँदै ल्याउनुहुन्थ्यो
लिखा र किर्नाले पुरिएको दुब्लो बाच्छी,
बर्ख दुई बर्खमै
पुष्ट फाँचो भएको
चिल्लो कैली गाई बन्थ्यो,
हामी नाच्थ्यौं आँगनमा
बिगौतीले नचाउँथ्यो,
सातपोक बाँध्नुहुन्थ्यो आमा
र भन्नुहुन्थ्यो - गाई र माई एकै हुन् बाबू!
हामी आमाको कुरालाई आदर्श मान्थ्यौं।
हामी नाच्थ्यौं आँगनमा
दारको ठेकीमा पारेको महीले नचाउँथ्यो,
बासी भातमा मही हालेर
नुन छर्किदिनुहुन्थ्यो आमाले
हामी स्वामस्वाम रमाइँदै खान्थ्यौं
रातो कोइलामा नौनी नुहाउनुहुन्थ्यो आमा
सायद विश्वास चुहाउनुहुन्थ्यो
र भन्नुहुन्थ्यो - भगवानलाई चढाउनुपर्छ,
धुवाँबाट मगमग बास्ना आउँथ्यो
हामी आमाको कुरालाई धर्म मान्थ्यौं।
कैली गाई कहिल्यै लामो समय
रहँदैनथ्यो हाम्रो घरमा
हामी नभएको मौका पारेर आमाले
कैली गाई बेच्नुहुन्थ्यो र
लगत्तै लिखा र किर्नाले पुरिएको
अर्को बाच्छी ल्याउनुहुन्थ्यो,
हामी रित्तो आँगनमा उभिएर
आमे डामे आमे डामे भन्दै
आमासँग रिसाउँथ्यौं।
मेरो छोरोलाई कैली गाई थाहा छैन,
लिखा र किर्ना थाहा छैन,
फाँचो र बिगौती थाहा छैन,
सातपोके थाहा छैन,
दारको ठेकी र मही थाहा छैन,
मदानी र नेती थाहा छैन,
कोइला र नौनी थाहा छैन,
उसलाई आमा पनि थाहा छैन।
अहिले त आमा पनि हुनुहुन्न र
कैली गाई पनि छैन,
जब छोरोले पैसा माग्छ म सँग
अनि म बुझ्ने गर्छु -
आमा किन कैली गाई
पटक-पटक बेच्नुहुन्थ्यो।
‘बर्बरिक’का अन्य कविता हेर्नुहोस्