अन्तर्राष्ट्रिय

कर्नाटकमा भाजपाको पराजयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कति नोक्सान?

भारतीय राज्य कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीलाई पराजित गर्दै कंग्रेस आईले बहुमत ल्याएको छ।

शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेस सत्तामा फर्किएको हो।

कर्नाटक विधानसभामा २२४ सिट छन्। बहुमतको सरकार बनाउन कम्तीमा ११३ सिट आवश्यक पर्छ। १३६ सिट जितेको कंग्रेसले प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।

एजेन्सीका अनुसार कर्नाटकामा कंग्रेसको जित सन् १९८९ पछिको सबैभन्दा ठूलो हो।

अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारुढ भाजपा यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ। कर्नाटकमा कंग्रेस आईले चुनावी बाजी मारेसँगै यसलाई नरेन्द्र मोदीको हार भन्न थालिएको छ।

लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकको चुनावी परिणाम आगामी राजनीतिका लागि क्षयीकरण हुने दिशामा गएको ठानिएको छ।

कर्नाटकामा भाजपा पराजय हुनुको सबै जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्।

कर्नाटकामा बुधबार विधानसभाको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनम ७३.१९ प्रतिशत मत खसेको थियो।

यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधानसभाको चुनाव हुँदै छ।

छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकको जितले अर्थ राख्ने राजनीतिक विश्लेषण गरिन थालेको छ।

चर्चित राजनीतिक कार्यकर्ता योगेन्द्र यादवले कर्नाटक चुनावको नतिजालाई लिएर द प्रिन्टमा लेखेका छन्, ‘कर्नाटक चुनावको नतिजापछि उत्साहित कंग्रेसीहरूले बिजेपीको अन्त्यको घोषणा गर्न सक्छन्। मलाई विश्वास छ कि यो नतिजाले मनोवैज्ञानिक प्रभाव पार्नेछ। कंग्रेसको जितले भाजपालाई पनि हराउन सक्छ भन्ने सन्देश दिनेछ।’

प्रसिद्ध राजनीतिक स्तम्भकार तथा इतिहासकार रामचन्द्र गुहाले कर्नाटकले भाजपालाई अपमानजनक हार दिएको र यो कर्नाटकको स्थानीय भाजपाभन्दा प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित साहको व्यक्तिगत पराजय भएको बताउँछन्।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ ४ (एजेन्सी)