अन्तर्राष्ट्रिय
युरोपेली संघका विदेश नीति प्रमुखले भने - भारतलाई कारबाही गर्नुपर्छ


युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलले भारतले रुसबाट कच्चा तेल लिएर बजारमा प्रशोधित वस्तु बिक्री गरिरहेको भन्दै युरोपेली संघले भारतविरुद्ध कारबाही गर्नुपर्ने बताएका छन्।
यसमा डिजल पनि समावेश छ। उनले मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित अन्तर्वार्तामा यस्तो बताएका हुन्।
रुस-युक्रेन युद्ध सुरू भएयता पछिल्लो एक वर्षमा भारतले रुसबाट सबैभन्दा बढी तेल खरिद गरेको छ।
भारतमा रहेका रिफाइनरीहरूले सस्तो कच्चा तेल पाएर धेरै फाइदा उठाएका छन्। तिनीहरू युरोपमा परिस्कृत उत्पादनहरू बेच्छन्।
बोरेलले भने, ‘यदि भारतबाट युरोपमा आउने डिजेल वा पेट्रोल रुसी तेलबाट बनेको हो भने यो सदस्य राष्ट्रहरूको लागि चिन्ताको विषय हो र उनीहरूले यसको विरुद्ध कदम चाल्नुपर्छ।’
बोरेलले भारतका विदेशमन्त्री एस जयशंकरसँगको वार्तामा युक्रेनमा रुसले गरेको आक्रमणलाई खाद्य सुरक्षाको मुद्दा समेत उल्लेख गरेको बताए। तर उनले रुसी तेलको उल्लेख गरेनन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली आयोगका उपाध्यक्ष मार्गरेट भेस्टेगरले यसबारे युरोपेली संघले भारतसँग कुरा गर्ने बताएकी छन्।
यसअघि ढुवानी खर्च निकै महंगो भएकाले भारतीय रिफाइनरीहरूले रुसबाट कम तेल लिने गर्दथे।
तर सन् २०२२-२३ मा दैनिक ९ लाख ७० हजारदेखि ९ लाख ८१ हजार ब्यारेल तेल आयात भएको थियो। यो देशको कुल आयातको पाँच भाग हो।