समाज

पीपलचोकबाट ६१ लाख बराबरको सुनचाँदीका गहना चोरी गर्ने समूह प्रहरीको फन्दामा

विराटनगर-३ पीपलचोकका जयकिशोर चौधरीको घरमा सुन तथा चाँदीका गरगहना र सामग्री चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन्।

उनीहरूलाई पक्राउपछि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार चौधरीको घरबाट २० तोला सुन र ३६ किलो चाँदी गरी जम्मा ६१ लाख बराबरका गहना तथा सामग्री गत जेठ ३ गते राति पौने १० बजे चोरी भएको थियो।

चौधरी र ज्योतिप्रसाद खाँ ज्वेलर्सका सञ्चालक हुन्। सुनचाँदीको कारोबारका साझेदार भएका कारण चौधरीको घरमा गहना राख्ने गरिएको थियो।

चोरीपछि प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट ८ जना प्रहरी टोली परिचालन गरेको थियो।

अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई बुधबार राति कोसी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरेको दाहालले बताए।

दाहालका अनुसार पक्राउ परेका व्याक्तिहरू दुई वटा कालो ब्यागमा चाँदीका सामानसहित भारत जाने तयारीमा थिए।

चोरी गरेको सुन भारतको जोगबनीमा सात लाखमा बेचेको अनुसन्धानबाट खुलेको छ।

IMG_02041685014003.JPG

तिनै जना चोरीपछि हाटखोलास्थित दिव्यरत्न होटेलमा तीन दिन बसेका थिए।

दाहालका अनुसार चोरी गर्ने उद्देश्यले उनीहरू चौधरीको घरमा शंकाकै भरमा पुगेका थिए। उनीहरू बाटोमा कसैले थाहा नपाउने गरी डुल्दै हिँड्ने गरेका थिए।

उनीहरूमध्ये एक जना घरबाहिरको अवस्था बुझ्न बसेका थिए। दुई जना ताल्चा लगाएको घरमा पर्खाल नाघेर छिरेका थिए।

उनीहरूको साथबाट ३५ किलो चाँदी, ८ ग्राम सुन बरामद भएको छ।

पक्राउ परेकामध्ये विवेक कामत चोरी मुद्दामा गत साउन २२ गते ९ महिना कैद भुक्तान गरी छुटेका थिए। श्रीकान्त दास डाँका तथा चोरी मुद्दामा २० महिना जेल परेर तीन वर्षअघि रिहा भएका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १५