समाज
करै नतिरी नुनसरी-बक्राहा खोला उधिन्ने भीम पौडेलको दाउ
असन्तुष्टिपछि कार्यपालिका बैठक, गाउँपालिका अध्यक्ष पुगे खोलामा

नुनसरी-बक्राहा खोला उधिन्न हतारो गरिरहेका भीम पौडेललाई कार्यपालिका बैठक बाधक बनेको छ।
बिहीबार बसेको मिक्लाजुङ गाउँपालिका कार्यपालिका बैठकले पौडेललाई पूरै ठेक्काको रकम र करसमेत नबुझाइकन खोलामा पस्न नदिने निर्णय गरेको हो।
‘ठेक्काको सबै रकम नबुझाइकन खोलामा पस्न नदिने निर्णय भएको छ,’ वडा नम्बर ७ का अध्यक्ष सुशीलराज चौहानले नवपथसँग भने।
वडाध्यक्षहरूले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) सेटिङमा बनेको, सीमांकन नगरीकन ठेकेदारलाई खोलामा पसाउन खोजिएको, पूरै रकम जम्मा नगरीकन खोला उधिन्न खोजिएको र गाउँबस्ती नै जोखिममा पार्ने गरी पौडेललाई खोलामा छिराउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेपछि बिहीबार कार्यपालिका बैठक बसेको थियो।
गाउँपालिका अध्यक्ष बबिकुमार राईका अनुसार पौडेलले अहिलेसम्म ठेक्काको सबै रकम ५ करोड ५५ लाख रुपैयाँ बुझाएका छन्। तर, त्यो रकममा जोडिने कर बुझाएका छैनन्।
पौडेलले दुई किस्तामा उक्त रकम बुझाएका हुन्। पहिलो किस्ता बुझाएर पौडेल खोला उधिन्ने कसरतमा थिए। तर, पूरै रकम नबुझाई खोलामा पस्ने वातावरण नमिल्दा दोस्रो किस्ता बुझाउन बाध्य भएका थिए।
दोस्रो किस्ता बुझाए पनि कर नतिरीकन खोलामा पस्न नदिने कार्यपालिकाको निर्णयपछि पौडेल थप समस्यामा परेका हुन्। उक्त खोलाबाट प्राकृतिक स्रोतसाधन निकाल्न अब १९ दिन मात्रै बाँकी छ।
‘करको रकम नबुझाएसम्म खोला खन्न नदिने निर्णय भएको छ,’ राईले भने।
राई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। पौडेल कांग्रेस पृष्ठभूमिकै भएका कारण नुनसरी-बक्राहामा छिराउन राईले जोडबल गरेका थिए। आइइई रिपोर्टमा वडाध्यक्षहरूले चित्त नबुझाएपछि सरोकारवालाहरू लिएर अध्यक्ष राई आफैं शुक्रबार खोलामा पुगेका छन्।
सँग रहेका वडाध्यक्ष चौहानले नुनसरी-बक्राहा खोला खन्दा बाढीको जोखिमले विपत्ति निम्त्याएको भन्दै स्थानीयले गुनासो गरेको बताए।
‘यहाँका कोही नागरिकले पनि खोला खन्न दिनू भनेर भन्दै भन्दैनन्,’ उनले भने, ‘यसअघि प्राकृतिक विपत्ति निम्तिएका कारण स्थानीय डराइरहेका छन्।’
मनसुनको मुखमै हतारमा उक्त खोलाबाट प्राकृतिक स्रोतसाधन निकाल्न गाउँपालिकाले इ-बिडिङ आह्वान गरेको थियो। उक्त आह्वानमा पौडेलको मात्रै कम्पनी परेपछि उनैलाई खोला सुम्पिने निर्णय गाउँपालिकाले गरेको थियो।
नुनसरी-बक्राहा मिक्लाजुङ गाउँपालिका-९,६,७ र २ नम्बर वडा भएर बग्छ।
लेटाङ नगरपालिका भएर बग्ने चिसाङ खोलामा अवैध उत्खनन् गरेको आरोपमा पौडेललाई उक्त नगरपालिकाले जरिवाना तिराएको एक हप्ता मात्रै पुग्दैछ। उनी खोलानालामा अवैध उत्खननले विवादित छन्। उनै पौडेललाई ठेक्का दिलाउन भने व्यापक सेटिङ हुने गरेको छ।