समाज
भीम पौडेललाई नुनसरी-बक्राहा खोला उधिन्न तगारै-तगारो (कार्यपालिकाको निर्णयसहित)


मिक्लाजुङ गाउँपालिकाले ठेकेदार भीम पौडेललाई ठेक्कामा कबोलेको सबै रकम नतिरी नुनसरी-बक्राहा खोलामा छिर्न नदिने भएको छ।
गाउँपालिकाको बिहीबार बसेको १२ औं कार्यपालिका बैठकले पौडेललाई सर्तै-सर्त राखेर सुरूमा कबोलेको रकम तिरे मात्रै खोलामा छिर्न दिने निर्णय गरेको हो।
एक सदस्यका अनुसार बैठकमा खोला ठेक्का सम्बन्धमा मनोमानी भएको आवाज उठेपछि कार्यपालिका यो निर्णयमा पुगेको हो।
पौडेल सञ्चालक रहेको इटहरीस्थित पाथीभरा कन्स्ट्रक्सनलाई ठेक्का परे पनि सम्झौता गरेर खोलामा छिराउनुअघि जोखिमको पूर्वआँकलन गर्नुपर्ने बैठकमा वडाध्यक्षहरूले राय राखेका थिए।
निर्णयको पहिलो नम्बर बुँदामा जेठ मसान्तभित्र खोला उत्खनन् कार्य गर्न अत्यन्त कम समय भएकोले कबोल अंकको सबै रकम जम्मा गराएर मात्रै ठेक्का सम्झौता गर्ने निर्णय गरिएको छ।
खोलाको ठेक्का ५ करोड ६१ लाख १११ रुपैयाँ हो। उक्त ठेक्काको भ्याट मात्रै ६५ लाख ९ हजार ९६४ रुपैयाँ हुन आउँछ।
पौडेलले अहिलेसम्म ४ करोड ५० लाख ५५ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको देखिएको छ। तर, गाउँपालिका अध्यक्ष बबिकुमार राईले ठेकेदार पौडेलले करबाहेकको सबै रकम बुझाइसकेको दाबी गरेका थिए।
‘कार्यपालिकाको बैठकमा सबै रकम बुझाएको नदेखिएको हुँदा रकम नबुझाइकन ठेक्का सम्झौता नगर्ने निर्णय भएको छ,’ ७ नम्बर वडाका अध्यक्ष सुशीलराज चौहानले नवपथसँग भने।
पौडेलले नुनसरी-बक्राहा खोला उत्खनन् गर्दा आफूखुसी मेसिन प्रयोग गर्न नपाउने भएका छन्। निर्णयको तेस्रो नम्बर बुँदामा उतखनन् गर्नुपूर्व गाउँपालिकाका प्राविधिक कर्मचारी खटाएर सीमांकन/रेखांकन गर्न लगाई मेसिनहरू कार्यालयको अनुमतिबाट मात्रै प्रयोग गर्न पाउने उल्लेख छ।
निर्णयको चौथो नम्बर बुँदामा गाउँपालिकास्तरीय अनुगमन समिति गठन गरिएको उल्लेख छ।
उक्त समितिमा गाउँपालिका उपाध्यक्ष संयोजक, नाका रहेका सम्बन्धित वडाध्यक्ष सदस्य, गाउँपालिकाका इन्जिनियर सदस्य, इलाका प्रहरी कार्यालयका प्रमुख सदस्य र गाउँपालिका शिक्षा शाखा प्रमुख सदस्य सचिव रहेका छन्।
उक्त समितिले सम्पूर्ण नाकाहरूको नियमन गरी हरेक सात दिनमा प्रतिवेदन गाउँपालिकामा पेश गर्नुपर्ने छ।
त्यस्तै, कार्यपालिका बैठकले गाउँपालिकाभित्रका उत्खनन् भइरहेका प्रत्येक नाकाको नियमित अनुगमन गर्नुपर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले अनुमति पाएका मेसिनको यकिन गर्ने र मेसिन प्रयोग गर्ने अनुमति एक पटकमा सात दिनका लागि मात्र दिने निर्णय गरेको छ।
यस्तै, ठेकेदारको तर्फबाट उत्खनन् भएको परिमाणको दैनिक फाँटबारी तयार गर्न लगाई प्रत्येक सात दिनको विवरण प्रत्येक ९ दिनभित्र गाउँपालिकामा पेश गर्नुपर्ने छ। प्रतिवेदन प्राप्त भएको आधारमा सात दिन थप गर्दै जाने निर्णय कार्यपालिकाले गरेको छ।
स्टक राख्ने स्थानको यकिन गर्न लगाउने, उत्खनन् गर्दा कुलो, बाँध, पैनी, वन क्षेत्रको क्षति नहुने गरी गराउने निर्णय बैठकले गरेको छ।
बैठकले नदीजन्य पदार्थको उत्खनन् सम्बन्धमा सम्बन्धित क्षेत्रका समुदायसँग छलफल गर्ने निर्णय गरेको छ। त्यो निर्णयअनुसार शुक्रबार सबै नदी क्षेत्रमा सबै जनप्रतिनिधिले छलफल गरेका छन्।
‘छलफल गर्दा सबै स्थानीयको राय अत्यधिक दोहन रोक्नुपर्ने आएको छ,’ वडाध्यक्ष चौहानले भने।
छलफलमा स्थानीयहरूले घनाबस्तीनजिक रहेको खोला छोटो समयमा उत्खनन् गर्दा जनजीवन प्रभावित बन्ने भन्दै विरोध गरेका थिए। नुनसरी-बक्राहाको नदीजन्य पदार्थ उत्खनन् गर्दा ठूला मेसिन प्रयोग गर्नुपर्ने, टिपरहरू घनाबस्तीबाट रातबिरात छिर्ने भएकाले जनजीवनमा असहजता हुने, धुलो उड्ने, बालीनालीमा क्षति पुग्ने, बाँध, कुलो, पैनीहरू मासिने भन्दै आक्रोश पोखेका थिए।
नुनसरी-बक्राहा मिक्लाजुङ गाउँपालिका-२,६,७ र९ नम्बर वडा भएर बग्छ। त्यो क्षेत्रमा पौडेललाई ठेक्का दिन गाउँपालिकाले सम्झौता गर्न लागेको थियो।
तर, पौडेलले अन्य नदीमा गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन् गरी व्यापक क्षति पुर्याउने गरेको पाइएपछि गाउँपालिकाले आवश्यक कडाइसाथ ठेक्का लगाउने तयारी थालेको हो।
नुनसरी-बक्राहा खोला खन्ने अवधि अब १७ दिनमात्रै बाँकी छ। सम्झौता नभइकनै पौडेलले नदी किनारक्षेत्रमा मेसिनहरू पुर्याइसकेका छन्। उनले वडा नम्बर ६ र ७ को सिमानामा पर्ने मलामी टोलमा एक्साभेटरहरू लगिसकेका छन्।
एकमुष्ट रकम जम्मा गरी सम्झौता गर्दा कानुनबमोजिम भ्याटबाहेकको रकममा १० प्रतिशत छुट दिने निर्णयको दोस्रो नम्बरमा उल्लेख छ। एकैपटक रकम जम्मा गरेर सम्झौता गर्दा अझै एक साता लाग्ने भएकाले पौडेलले नुनसरी-बक्राहाको ठेक्का लगभग गुमाउने निश्चित रहेको वडाध्यक्ष चौहान दाबी गर्छन्।
वडा नम्बर ६ र ७ क्षेत्रमा गत साल नै उत्खनन् गरी स्टक राखेको सामग्रीका पहाड अझै छन्।
गाउँपालिकाका अनुसार पौडेलले २०७८ साल फागुन १२ गतेको सूचनाअनुसार इ-बिडिङमार्फत् ठेक्का भरेका थिए। उनको कम्पनीले मात्रै भरेपछि ठेक्का उनैलाई दिनेतर्फ तयारी भइरहेको थियो।
तर, पौडेलले लामो समय रकम जम्मा गर्न सकेनन्। रकम पूरै जम्मा गर्न नसकेपछि उनले किस्ताबन्दीको सर्त तेर्स्याएर अन्तिम समयमा खोला उत्खनन अनुमति लिन खोजेका थिए।
वातावरणीय अध्ययन प्रतिवेदनको विश्वसनीयतामै प्रश्न उठ्न थालेपछि कार्यपालिका बैठकमा वडाध्यक्ष र गाउँपालिका अध्यक्ष बबिकुमार राईबीच चर्काचर्की नै परेको थियो। वडाध्यक्षहरूले कडाइ गर्नुपर्ने सर्त राखेपछि कार्यपालिका बैठक डाकिएको थियो।
‘आइइई प्रतिवेदन बनाउने कुरामा छलफल हामीसँग भए पनि कुन ठाउँमा कसरी बनाइयो जानकारी नभएपछि विश्वसनीयतामा प्रश्न उठ्यो,’ चौहानले भने।
लेटाङ नगरपालिका भएर बग्ने चिसाङ खोलामा अवैध उत्खनन् गरेको आरोपमा पौडेललाई उक्त नगरपालिकाले जरिवाना तिराएको १० दिन पुग्दैछ। उनी खोलानालामा अवैध उत्खननले विवादित छन्। उनै पौडेललाई ठेक्का दिलाउन भने व्यापक ‘सेटिङ’ हुने गरेको छ।
आठ वर्षअघिको त्यो बितण्डा
स्थानीय मस्त निद्रामा रहेको बखत सन् २०१५ जुलाई १ तारिखका दिन राति करिब ११ बजे नुनसरी-बक्राहा उर्लिएको थियो।
पहाडी र चुरेक्षेत्रमा भीषण वर्षा हुँदा नुनसरीमा बाढी आएको थियो। बस्तीभन्दा डेढ मिटर अग्लो भएर थुप्रिएको नुनसरी-बक्राहामा अत्यधिक बालुवा–गिट्टी झिक्ने र खोलालाई सन्तुलनमा ल्याउने काम नहुँदा बाढी पसेको थियो।
बाढीले सयौं मानिस विस्थापित भएका थिए भने खेतीयोग्य जमिन तहसनहस भएको थियो।
त्यसपछि खोलालाई सन्तुलनमा ल्याउन र बाँध पुनःनिर्माण गर्दै त्यहाँ नदीजन्य सामग्री खोतल्न थालिएको थियो। खोला नियन्त्रणमा आएसँगै शान्तिको स्वास फेरिरहेका त्यहाँका जनता पौडेल पस्न लागेपछि तर्सिएका हुन्। किनभने, पौडेलका कारण मोरङका अन्यत्रका खोलानाला, बस्ती, पैनी, पानीका मुहान सखाप भएको त्यहाँका स्थानीयले थाहा पाएका छन्।
नुनसरी-बक्राहा खोलालाई खुमबहादुर खड्का गृहमन्त्री भएको बेलामा बाँध बाँधी पूर्वतर्फबाट पश्चिमतिर फर्काइएको थियो। त्यसपछि खोलो उच्च हुँदै गए पनि जोखिम घटाउन कुनै पनि काम राज्यस्तरबाट भएको थिएन।
किनभने, उक्त खोला ठेकेदार र क्रसरको अपायक थियो। तत्कालीन जिल्ला विकास समितिले ठेकेदार र क्रसरको पायक क्षेत्रमा मात्रै ठेक्का लगाउने गरेको थियो।
तर, नुनसरी-बक्राहा उर्लिएर बस्तीमा पसेपछि भने त्यहाँ निर्माण सामग्री झिक्दै खोलालाई च्यानलाइज गरिन थालिएको हो।
अहिले परिस्थिति फरक भइसकेको छ। नुनसरी-बक्राहा गहिरिँदै गएको छ। खोलो गहिरिएर बाँध फुटाउन थालेको, पैनी, कुलोहरूमा असर पर्न थालिसकेको स्थानीय बताउँछन्। यस्तो परिस्थितिमा पौडेलजस्ता विवादित र खोलानालाको अत्यधिक दोहनमा चर्चित व्यक्तिलाई छिराउँदा पहिलेको जोखिमको पुनारावृत्ति हुनेतर्फ स्थानीय र वडाध्यक्षहरू सचेत भएका छन्।