समाज

इलाम बस दुर्घटना : १२ वर्षीय बालक र ४० वर्षीया महिलाको मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षीया तुल्मा लामा रहेका छन्।

तुल्माको आइतबार राति उपचारको क्रममा बिएन्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी उपरीक्षक बासुदेव खतिवडाले बताए।

अर्पणको उपचारकै क्रममा सोही अस्पतालमा साँझ मृत्यु भएको थियो।

दुर्घटनामा अन्य ३४ जना घाइते छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको खतिवडाले बताए।

इलाम पुगेर फर्किँदै गरेको ना६ख ८४२४ नम्बरको बस आइतबार साँझ ५ बजे इलामको रोङ गाउँपालिका–३ अर्याल चोकनजिक दुर्घटना भएको थियो।

बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो। उक्त बस धनुषाबाट विद्यार्थीसहित शैक्षिक भ्रमणमा निस्केको थियो।

दुर्घटना परेको बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्