ताजा समाचार
शान्ति प्रक्रियाका काम चाँडै टुंगोमा पुर्याइन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमार्फत् शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउने बताएका छन्।
राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका सन्दर्भमा बेपत्ता योद्धा परिवार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै दलहरूबीच सहमति बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्दै दुई वर्षभित्रै शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउने बताएका हुन्।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा अपुग भएका विषयलाई पूर्ण बनाएर यसलाई साझा बनाउने प्रयासमा सरकार रहेको धारणा राखे।
दाहालले जनयुद्धका क्रममा बेपत्ता भएकाहरूको यथार्थ अवस्था थाहा भए चित्त बुझाउने ठाउँ हुने र परिपूरणको व्यवस्था गर्न सकिने बताए।
दाहालले आफ्नो पूरै कोसिस शान्ति प्रक्रियाकालाई टुङ्ग्याउनेमा ध्यान केन्द्रित भएको र यसमा गठबन्धनका दलहरूबीच एकमत रहेको र प्रतिपक्षीको पनि सहयोग रहेको धारणा राखे।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै दलहरू तयार भए शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र नभई एक हप्ताभित्रै टुङ्ग्याउन सकिने बताए।
उनले अब जनताको हित हुने विषयमा हामफाल्न तयार हुनुपर्ने धारणा खे।
त्यस्तै, कांग्रेसका मुख्य सचेतक सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सहमति गर्दै शान्ति प्रक्रियाका काम छिट्टै टुङ्गोमा पुर्याउनुपर्ने बताए।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुने भन्दै यसमा साझा सहमति खोजिने बताए।