ताजा समाचार
सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गर्यो : ओली

नवपथ संवाददाता
काठमाडौं, भदौ ३१

नेकपका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका छन्।
आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका हुन्।
उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानी जानी राजस्वबाट भगाएको तर्क गरे। ओलीले सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केहि पनि फेला पर्न नसकेको समेत बताए। अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप लगाएका छन्।
ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृतिम मूल्यबृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखेका छन्।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०