ताजा समाचार
परिवार खेतमा गएका थिए, झुलुंगेबाट खसेका बालक चुलोमा जलेर बिते

नवपथ संवाददाता
काठमाडौं, असोज १

सिन्धुलीमा जलेर तीन वर्षीय बालकको मृत्यु भएको छ।
मरिण गाउँपालिका-३ अरुणका बालक मनिष मुक्तानको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको हो।
सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार बालक अपांगता भएका व्यक्ति थिए।
‘भान्सा घरमा झुलुङ्गेमा राखेर परिवारका सदस्य खेतमा गएको बेला बालक चुलोमा परेका हुन्,’ उनले भने। झुलुङ्गेबाट भुइँमा झरी घिस्रिएर बालक तीन फिट पर रहेको चुलोमा परेको उनले बताए।
परिवारका सदस्य घरमा आउँदा बालक मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। उनको पिठ्युँ, टाउकोको पछाडिको भाग र पेट जलेको थियो। शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगिएको छ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८०