ताजा समाचार
काठमाडौंसहित विभिन्न ठाउँमा पाँच जना मृत फेला


काठमाडौंसहित विभिन्न पाँच जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोक डेरा गरी बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-१० घर भएका ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरामा उनकै भाइ ३२ वर्षीय उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन्।
बागलुङ, बागलुङ नगरपालिका-१ रामरेखा बस्ने ३० वर्षीय छितिज राना मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१० बारबाने बस्ने ४८ वर्षीया कल्पना जिएम आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका-१६ हनुमाननगर टोलस्थित नालामा सोही उपमहानगरपालिका-१८ मौवाही बस्ने ६५ वर्षीय रामविलाश पासवान आइतबार मृत अवस्थामा फेला परेका छन्।
बैतडी, दशरथचन्द नगरपालिका-५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी सोही नगरपालिका-५ मुल्याभिटो काठोमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।