ताजा समाचार

छठ पर्वले राष्ट्रिय एकतालाई बलियो बनाएको छ : कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले छठ पर्वले राष्ट्रिय एकता बलियो बनाएको बताएका छन्।

छठ पूजाको अवलोकन गर्न पिचरा नहर पुगेका नेताले कोइरालाले सञ्चारकर्मीसित कुराकानी गर्दै आपसी सद्भावसँगै राष्ट्रिय एकतालाई बलियो बनाएको बताए।

उनले छठ पर्वले सबै नेपालीमा एकता, राष्ट्रिय अखण्डता, मेलमिलाप र सहमति कायम गर्ने विश्वाससमेत व्यक्त गरे।

‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्,’ कोइरालाले भने, ‘यस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने मैले विश्वास लिएको छु।’

नेपालभित्र मानिने हरेक पर्वको आफ्नो छुट्टै विशेषता र महत्व रहेको उनको भनाइ थियो। अझ छठ पर्वले विशिष्ट महत्व र विशेषता बोकेको कोइरालाले बताए। कोइरालाले भने, ‘हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्रताका धरोहर हुन्, यी चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्।’

नेता कोइरालाले अहिले मुलुकको राजनैतिक, धार्मिक, सांस्कृतिक एकतामाथि प्रहार भइरहेको बताउँदै सचेत रहन आग्रहसमेत गरे। प्रतिनिधिसभाका सदस्यसमेत रहेका कोइरालाले ब्रतालुहरूलाई भेटेर शुभकामनासमेत दिए।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०

प्रतिक्रिया दिनुहोस्