ताजा समाचार

साइन्स सेन्टरमा ‘चन्द्रमाबाट ल्याइएको’ चट्टान प्रदर्शनको तयारी

सुनसरीको शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टरमा चन्द्रमाबाट ल्याइएको चट्टान प्रदर्शन गरिने भएको छ।

उक्त चट्टान पौने चार अर्ब वर्ष पुरानो भएको भन्दै सेन्टरका सञ्चालक दिलीप अधिकारीले प्रदर्शनीको तयारी गरेका हुन्।

सुनसरीको बर्जु गाउँपालिका-५ सीतागन्जमा रहेको एभरेष्ट साइन्स सेन्टरले आउदो नयाँ वर्षको अवसर पारेर चन्द्रमाबाट ल्याइएको ढुंगा प्रदर्शनको तयारी गरेको हो।

अमेरिकी अन्तरीक्ष संस्था नासाका वैज्ञानिकहरूले पृथ्वीबाट ३ लाख ८४ हजार किलोमिटर टाढा रहेको चन्द्रमाबाट उक्त चट्टान ल्याएको दाबी अधिकारीले गर्दै आएका छन्।

सेन्टरले पत्रकार सम्मेलन गरी चट्टान प्रदर्शन गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै एभरेष्ट साइन्स सेन्टरका सञ्चालक दिलीप अधिकारीले चन्द्रमाको ढुंगा ल्याउने विषयमा अमेरिकी अन्तरिक्ष संस्था नासासँग सहमति भइसकेको दाबी गरे। उनले ‘शान्तिवनदेखि चन्द्रमासम्म–२’ शीर्षकमा आउँदो नयाँ वर्ष २०८१ वैशाख ३ गतेदेखि साढे ६ महिनासम्म चन्द्रमाको ढुंगा प्रदर्शनमा राखिने बताए।

अमेरीकी अन्तरिक्ष यान अपोलो-१७ बाट चन्द्रमामा पुगेका अन्तरिक्ष यात्री हैरिसन एच जैक स्मिटले २०२९ साल मंसिर २६ गते ल्याएको चट्टानको टुक्रा प्रदर्शन गर्न लागिएको अधिकारीले बताए।

सो समयमा अपोलो-१७ यानबाट ८ किलो १ सय १० ग्रामको चन्द्रमाको चट्टान ल्याइएकोमा त्यसैबाट टुक्र्याइएको १ सय २० ग्राम तौल रहेको टुक्रा एभरेष्ट साइन्स सेन्टरमा प्रदर्शन गरिने अधिकारीले बताए।

नासाका वैज्ञानिकहरूले उक्त चट्टानको नाम मेयर बसाल्ट नामाकरण गरेका छन्। उक्त चट्टान ३ अर्ब ७५ करोड वर्ष पुरानो रहेको दाबी गरिएको छ।

नासाले उक्त चट्टानलाई पृथ्वीको वातावरण र मौसमले कुनै पनि प्रतिकूल असर नपार्ने गरी पारदर्शी सुरक्षा कवचभित्र राखेको बताइएको छ।

चट्टान प्रदर्शन गर्ने क्रममा नासाका वैज्ञानिकहरूले समेत नेपालको साताव्यापी भ्रमण गर्ने अधिकारीले दाबी गरे। उनीहरूले काठमाडौं, लुम्बिनी, नेपालगन्ज र धनगढीमा पुगेर विज्ञानका विद्यार्थीहरूमाझ अन्तरिक्ष र चन्द्रमा सम्बन्धी प्रस्तुती दिने अधिकारीले दाबी गरे।

साइन्स सेन्टर २०५८ सालमा स्थापना भएको थियो। यसअघि २०७० सालमा समेत साइन्स सेन्टरले दुई महिनासम्म सोही ढुंगा प्रदर्शन गरेको थियो।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०