ताजा समाचार

भ्रष्ट प्रवृत्तिले राष्ट्रियता नै कमजोर बन्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रियता नै कमजोर बन्न सक्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सिर्जना गर्ने र राष्ट्रियता नै कमजोर बन्ने बताएका हुन्।

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको र भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उनले बताए।

उनले जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्ने बताए। राष्ट्रपति पौडेलले सुशासन लोकतन्त्रको प्राणवायु भएकाले मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेको धारणा राखे।

सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमान्दार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक रहेको उनको भनाइ छ। उहाले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगतलगायत प्रत्येक नागरिकलाई भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्न आह्वान गरे।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँमा आयोग थप अडिग भएर अघि बढ्ने बताए। उनले भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको र यस्ता काममा सरकारले आयोगलाई हस्तक्षेप नगर्ने जिकिर गरे।

त्यस्तै, उनले विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गरे।

त्यस्तै, आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार विरुद्धको अभियानमा आयोगको एक्लो प्रयास सम्भव नभएकाले सबैको साथ आवश्यक रहेको बताए।

संघीयता कार्यान्वयनपश्चात् हालसम्मको अवधिमा तीनै तहका कामकारवाहीका बिषयमा धेरै उजुरीहरू पर्ने गरेको उनले बताए। 

तिनै तहका सरकारबाट कानुनबमोजिम मन्त्रालय, विभाग, सचिवालय र विभिन्न प्रशासनिक तहबाटै निर्णय हुनुपर्ने प्रशासनिक कार्यहरूलाई समेत नीतिगत विषय भनी मन्त्रिपरिषद्बाट निर्णय गराउने विषयमा आयोगले धेरै पटक सम्बन्धित सरोकार निकायलाई सुझाव दिइसकेको राईले बताए।

कार्यक्रममा आयोगका कर्मचारी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

त्यस्तै कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
विराटनगर, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन १०