भिडिओ

यी हुन् तीनकुनेमा चार जनाको सामूहिक हत्या गर्ने व्यक्ति

काठमाडौं-३२ तीनकुनेको दिव्य काठ मिलभित्र पसेर चार जनाको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार बेलुका भण्डारीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

भण्डारी आइतबार नै पक्राउ परेका थिए। सिन्धुपाल्चोक गाउँमा गएर लुकिछिपी बस्ने योजना बनाएका भण्डारीलाई परिसरको टोलीले पक्राउ गरेको थियो।

यस्तो छ हत्याको कारण

पत्रकार सम्मेलन गर्दै प्रहरीले सामूहिक हत्याको कारण मोटरसाइकलको ठक्कर रहेको बताएको छ।

भण्डारी बोल्न सक्दैनन्। प्रहरीले सांकेतिक भाषाबाट उनीसँग बयान लिएको थियो।

केही समयअघि मोरङ बेलबारीका नवीन भनिने विशाल राईले चलाएको मोटरसाइकलले भण्डारीलाई चाबहिलमा ठक्कर दिएको थियो।

त्यसबेला राईले भण्डारीलाई कुटपिट गरेका रहेछन्। त्यही घटनाको ‘रिसिइबी’ साँध्न भण्डारी काठमिलमा राईलाई खोज्दै पुगेको देखिएको छ।

घटना शुक्रबार राति ९:४५ देखि १०:१५ सम्मको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार राति भण्डारी राईलाई खोज्दै काठ मिलमा पुगे। ‘भेट्छु निहुँ खोजे छप्काइदिन्छु’ भनी उनी योजनाबद्ध रूपमै दिदी-भिनाजुको काँडाघारीस्थित डेराबाट खुकुरी लिएर निस्केका थिए।

तीनकुने आएपछि उनले मुल ढोका बन्द देखे। उनी मिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढेर भित्र छिरे।

सुरूमा विशाललाई देखेनन्।

‘भित्र छिरेर सोफामा बसे,’ ढुंगेलले भने, ‘केही छिनमा विशाल आइपुगे। किन यहाँ बसेको भन्दै विशालले कुटपिट गर्न थाले।’

रिस थाम्न नसकेर उनले राईको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरे।

विशालको हत्या गर्ने क्रममा ७० वर्षीया वृद्धा शुभद्रा भुजेलले देखिन्। उनी भण्डारीले उनलाई पनि टाउकोमा खुकुरी हाने।

त्यसपछि शुभद्राका छोरा पूर्णबहादुर भुजेल (कुमार)ले देखे। पूर्णबहादुर मिलमा गेटपालेको काम गर्थे।

उनलाई पनि प्रहार गरे। क्रमश: उनकी श्रीमती अम्बिकाले देखिन्। उनलाई पनि टाउकोमा नै खुकुरी प्रहार गरे।

त्यसपछि भण्डारीले पूर्णबहादुरको लाशलाई छिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा फालेका थिए। अम्बिकाको लाशलाई पानीको कल छेउमा लगेर फाले। शुभद्राको शव काठको गोदाम छेउमा लगेर फाले।

‘तत्काल उनले विशाललाई रिसिइबीको कारण हत्या गरेको भए पनि अन्य तीन जनाले देखेपछि घटना बाहिर आउँछ भनी हत्या गरेको खुलेको छ,’ ढुंगेलले भने।

चारै जनाको हत्यापछि मिलको मुख्य गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइट देखिएपछि पछाडिपट्टीको गेटबाटै हामफालेर कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोकमा पुगेर दिदी-भिनाजुको कोठामा गई सुतेको पाइएको छ।

शनिबार बिहान उठेर भण्डारी आफू पढेको नक्सालस्थित स्कुलमा गएर साथीभाइ भेटे। पुन: काँडाघारीमै आएर सुतेको खुलेको छ।

आइतबार बिहान उठेर खान खाएपछि सिन्धुपाल्चोक घर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको झोलामा हत्या गर्दा प्रयोग गरेको खुकुरी बरामद भएको छ।

उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेको ढुंगेलले बताए। भण्डारीले सांकेतिक भाषामा कक्षा १२ पास गरेको बताएका छन्।

काठ मिलभित्र दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय पूर्णबहादुर, उनकी श्रीमती अम्बिका, उनकी आमा ७० वर्षीया शुभद्रा र मोरङ बेलबारी घर भएका १९ वर्षीय विशालको शुक्रबार राति हत्या भएको थियो।

शुभद्रा आफ्ना श्रीमानको श्राद्ध गर्न बिहीबार मात्रै काठमाडौं आएकी थिइन्।

हत्याको अनुसन्धान सिलसिलामा धनकुटा घर भई सोही मिलमा काम गर्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको थियो। उनी राति मिलभित्र पस्दा सबैको हत्या भइसकेको पाइएको छ।

राई राति बानेश्वर वृत्तमा हस्याङफस्याङ गर्दै ट्याक्सी लिएर पुगेका थिए।

नवीन दीपेन्द्रका काकाका छोरा हुन्। दीपेन्द्रका बुवा पनि यही मिलमा पहिले काम गर्थे।

नवीन एक महिनाअघि मात्रै वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउन काठमाडौं आएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०

प्रतिक्रिया दिनुहोस्