भिडिओ

सरकार संवेदनशील नहुँदा जातीय र धार्मिक सद‍्भाव बिग्रियो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन्। 

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौहत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेकोमा सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन्।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने बताए।

थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्षहरू सचेत बन्नुपर्ने थापाले बताए।

त्यस्तै, अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरेका छन्। 

उनले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताए।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार