भिडिओ

सरकारले जाजरकोट र रुकुममा पाँच-पाँच करोड तुरुन्तै पठाउने

सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहत लगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।

शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सबै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो।

बैठकमा श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन समेत दिए।

अहिले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगन्जलाई तोकेर परिचालन र राहतका काम एकद्वार प्रणालीका साथ अघि बढाउने उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले बताए।

उनले तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको बताए।

गृहमन्त्री श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट पाँच-पाँच करोड तुरुन्तै पठाउने निर्णय भएको जानकारी दिए।

भूकम्पका कारण अवरुद्ध सडक खुलाउन सडक विभागलाई निर्देशन दिएको, प्रभावित क्षेत्रमा कम्बल, पाल र खानेकुराको व्यवस्थापन पनि भइसकेको उनले जानकारी दिए।

उनले छिमेकी मुलुकले पनि सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी पठाएको भन्दै भारत र चीनलाई धन्यवाद दिँदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहेको जवाफ दिएको बताए।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार